बागमती, ८ फागुनः बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन कार्यालय हेटौँडाद्वारा मकवानपुर र चितवनमा सञ्चालित आधा दर्जनभन्दा बढी योजनाको काम सम्पन्न भएको छ। निर्धारित समयमा योजना सम्पन्न गर्ने लक्ष्यसहित कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाहरूले गति लिएका हुन्। कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार हेटौँडा अस्पतालको भवन निर्माणकार्य सम्पन्न भई हाल हस्तान्तरणको प्रक्रियामा रहेको छ। गत २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने समयसीमा तोकिए पनि अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा केही समय थप लागेको उहाँले जानकारी दिनुभयो। यसैगरी, बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन आर्थिक वर्ष २०८१/८२ भित्रै सम्पन्न भएको छ।