प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस्: पूर्व राष्ट्रपति भण्डारी

प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस्: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ, ७ फागुन : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले आज निरंकुश शासनविरुद्धको सङ्घर्षले विजय हासिल गरेको ऐतिहासिक दिन भएको स्मरण गर्नुभयो। सन्देशमा उहाँले प्रजातन्त्र दिवसले नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र बलिदानको स्मरण गराउने बताउनुभयो। उहाँले भन्नुभयो, “यो दिवसले जनताको एकताबद्ध शक्तिले लोकतन्त्र, मानवअधिकार र राजनीतिक स्वतन्त्रता स्थापना गर्न सकिने प्रेरणादायी सन्देश दिन्छ। लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभइ व्यवहार र संस्कारको रूपमा आत्मसात् गर्दै यसको संरक्षण र सुदृढीकरणका लागि निरन्तर प्रयासरत रहनु आवश्यक छ।” पूर्व राष्ट्रपति भण्डारीले संविधानले प्रत्याभूत गरेका अधिकार र दायित्वको सन्तुलित प्रयोगमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो। उहाँले यस अवसरमा, यही फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउन सबैको साझा दायित्व रहेको पनि बताउनुभयो।

Tokha