निर्वाचन आयोगद्वारा ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी

निर्वाचन आयोगद्वारा ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी

काठमाडौँ, फागुन ७ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत मतदान प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। यो कार्यविधि अस्थायी मतदाता नामावली सङ्कलन तथा मतदान प्रक्रियालाई कानुनी रूपमै व्यवस्थित तुल्याउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको हो। आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ को अधिकार प्रयोग गरी यस कार्यविधि तयार गरेको जनाएको छ। नयाँ कार्यविधिअनुसार आयोगले अस्थायी मतदाता नामावली सङ्कलनसम्बन्धी विस्तृत कार्यक्रम र सूचना सार्वजनिक गर्नेछ। सूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्न राष्ट्रिय स्तरका सञ्चारमाध्यममार्फत प्रकाशन र प्रसारणको व्यवस्था पनि गरिएको छ। कार्यविधिका प्रावधानअनुसार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारीहरू, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारीहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका जनशक्ति, कारागारमा रहेका थुनुवा तथा कैदीहरू, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मी, र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू अस्थायी मतदाता नामावलीमा समावेश हुनेछन्। यदि कुनै योग्य व्यक्तिको नाम छुटेमा वा नामावलीमा त्रुटि देखिएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित सुधारका लागि प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले विश्वास व्यक्त गरेको छ कि यस व्यवस्थाले समानुपातिक निर्वाचन प्रणालीमा मताधिकारको सुनिश्चितता र पारदर्शितालाई थप बल पुर्‍याउनेछ।

Tokha