देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली
देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली
काठमाडौँ, ७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि आवश्यक रहेको बताउनुभएको छ। पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले आगामी निर्वाचनलाई *“राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष”*को रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ। हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो।” अध्यक्ष ओलीले घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो, “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं।” उहाँले भदौ २४ गतेको महाविनाशलाई अप्रत्यासित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण भएको पनि स्पष्ट गर्नुभयो।