लोकतान्त्रिक र प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छः झलनाथ खनाल

लोकतान्त्रिक र प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छः झलनाथ खनाल

काठमाडौँ, ७ फागुन : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन लोकतान्त्रिक तथा प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ। प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले राष्ट्रलाई सङ्कटतर्फ जानबाट रोक्न आसन्न निर्वाचनको सही उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले चुनावमा ‘नयाँ’ भनिने शक्तिहरूसँग स्पष्ट नीति, कार्यक्रम वा ठोस प्रतिबद्धता नदेखिएको टिप्पणी गर्दै पहिलेदेखि राजनीतिक मैदानमा क्रियाशील दलहरूले आफ्ना विगतका कमजोरी सच्याउँदै नयाँ सङ्कल्पसहित अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो। आसन्न निर्वाचनलाई सम्पूर्ण नेपालीका लागि अवसर र चुनौती दुवैका रूपमा लिनुपर्ने उहाँको भनाइ छ। नेपालको इतिहासमा निरङ्कुश राणा शासनविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातान्त्रिक प्रक्रियाले विजय प्राप्त गरेको स्मरण गर्दै नेता खनालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा उहाँले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान, नयाँ आमनिर्वाचन तथा दुई तिहाइको सरकार गठनजस्ता ऐतिहासिक उपलब्धिको स्मरण गर्नुभएको छ। “सहिदहरूको बलिदानले देशमा पटक–पटक परिवर्तन सम्भव भएको छ। लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा पनि अपेक्षित समृद्धि हासिल हुन सकेको छैन,” उहाँले भन्नुभएको छ, “अब क्रान्तिकारी भूमिसुधार, कृषिको आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ।”

Tokha