राष्ट्र निर्माणका लागि एकजुट बन्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह

राष्ट्र निर्माणका लागि एकजुट बन्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह

काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उहाँले २००७ सालको क्रान्तिले नेपालीलाई रैतीबाट नागरिक बनाएको ऐतिहासिक उपलब्धिको स्मरण गर्नुभएको छ। साथै २०१५ सालमा आजकै दिनदेखि पहिलो संसदीय निर्वाचनको सुरुआत भएको उल्लेख गर्दै यस दिनलाई निर्वाचन दिवसका रूपमा पनि चिनाउनुभएको छ। सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटकपटक आन्दोलन गर्नुपर्‍यो। अब त्यस नियतिको अन्त्य गर्नैपर्छ। भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ।” प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ। उहाँले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्र निर्माणका निम्ति साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

Tokha