स्वच्छ र निष्पक्ष निर्वाचनका लागि अनुकूल वातावरण बनाउन आयोगको आह्वान
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि अनुकूल वातावरण बनाउन आयोगको आह्वान
काठमाडौँ, ७ फागुन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक र निर्बाध रूपमा चुनावी प्रचार–प्रसार गर्न आह्वान गर्नुभएको छ। दशौँ निर्वाचन दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक तथा आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सहभागी हुने वातावरण तयार गर्न अपिल गर्नुभएको छ। सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकारवालासँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु।” नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो। यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो। सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाइँदै आएको छ। गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान दिन आउन अब १४ दिन बाँकी रहेको उल्लेख गर्दै कावा प्रमुख आयुक्त भण्डारीले यसपटकको निर्वाचन दिवस आयोग मात्र नभई आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहने बताउनुभयो। उहाँले लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ। आममतदाताले मताधिकारमार्फत व्यक्त गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ। स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो।” स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चयन हुने प्रक्रियाले लोकतन्त्रलाई चिरस्थायी बनाउने उल्लेख गर्दै उहाँले निर्वाचनमा उम्मेदवारहरूले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ,” उहाँले भन्नुभएको छ।