झापा–५ मा एमालेको चुनावी सरगर्मी: युवा मार्चपास प्रदर्शन
झापा–५ मा एमालेको चुनावी सरगर्मी: युवा मार्चपास प्रदर्शन
दमक, ६ फागुनः आगामी प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारलाई तीव्र बनाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकामा विशाल युवा मार्चपास प्रदर्शन गरेको छ। बुधबार आयोजित मार्चपास निर्वाचन लक्षित जनपरिचालन अभियानको हिस्सा रहेको एमालेले जनाएको छ। कमल गाउँपालिकाका दुई स्थानबाट सुरु भएको मार्चपासमा युवाहरूको बाक्लो सहभागिता देखियो। साविक लखनपुर खण्डका वडा नम्बर ५, ६ र ७ का युवाहरूले लखनपुर चोकदेखि पाडाजुङ्गीसम्म मार्चपास गर्दै एमालेको समर्थन जनाएका थिए। त्यस्तै, साविक तोपगाछी खण्डका युवाहरूले केराधाप चोकदेखि केर्खासम्म मार्चपास सम्पन्न गरेका थिए, जानकारी एमाले गाउँ कमिटी अध्यक्ष हरि ढकालले दिनुभयो। सांस्कृतिक झाँकी, पार्टी झण्डा र नाराबाजीसहित निकालिएको र्यालीको समापनका क्रममा आयोजित कोणसभामा नेताहरूले आगामी निर्वाचनबाट एमालेले मुलुकको नेतृत्वमा स्पष्ट बहुमत ल्याउने दाबी गरे। पाडाजुङ्गी सभामा सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक देवेन्द्र दाहालले यो क्षेत्र मात्र नभई समग्र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने क्षमता एमालेसँग मात्रै रहेको बताउनुभयो। उहाँले आगामी निर्वाचन राष्ट्रवादी र राष्ट्रविरोधी शक्तिबीचको स्पष्ट विभाजन गर्ने भएकोले एमालेले राष्ट्रवादी धारको नेतृत्व गरिरहेको बताए। यस्तै, केर्खा बजारमा आयोजित कोणसभामा एमाले जिल्ला उपाध्यक्ष शिव ढुङ्गेलले मुलुक र जनताको हितमा काम गर्ने एकमात्र शक्ति एमाले भएको दाबी गर्दै केही तत्वहरूले युवाहरूलाई भ्रममा पारेर दुष्प्रचार गरिरहेको भए पनि आम जनता सचेत भइसकेको उल्लेख गर्नुभयो। झापा–५ मा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार हुनुहुन्छ। यस क्षेत्रमा पार्टीले प्रत्येक वडा र टोल तहसम्म निर्वाचन परिचालन तथा प्रचार–प्रसार समितिहरू गठन गरी मतदाता भेटघाटलाई सघन बनाएको छ। महिला, युवा, विद्यार्थी, किसान, मजदुर र बुद्धिजिवी लगायतका विभिन्न समूह निर्वाचन परिचालनमा सक्रिय रहेको एमाले केन्द्रीय सदस्य एवं निर्वाचन प्रचार–प्रसार उपसमितिका संयोजक इन्द्र भण्डारीले जानकारी दिनुभयो।