निर्वाचन आयोगको कडा निर्देशन: एआईको दुरुपयोग र मत सर्वेक्षणमा रोक, उल्लङ्घन भए कारबाही

निर्वाचन आयोगको कडा निर्देशन: एआईको दुरुपयोग र मत सर्वेक्षणमा रोक, उल्लङ्घन भए कारबाही

काठमाडौँ, ६ फागुनः निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर असर पार्न सक्ने भएकाले सबै सरोकारवालालाई सतर्क हुन आग्रह गरेको छ। आयोगले विशेष गरी सामाजिक सञ्जालमा फैलाइने गलत सूचना र आधुनिक प्रविधिको नकारात्मक प्रयोग रोक्न कडा नीति अपनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंगलबार जारी गरेको विज्ञप्तिमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी सिर्जना गरिएका भ्रामक वा तथ्यहीन सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। आयोगले उम्मेदवार वा राजनीतिक दलको छवि बिगार्ने, ‘डिप फेक’ भिडियो वा फोटो निर्माण गर्ने र दिग्भ्रमित पार्ने सामग्री पोस्ट नगर्न सचेत गराएको छ। आयोगका अनुसार प्रविधिले सूचना प्रवाह सजिलो बनाएको भए पनि यसको गलत प्रयोगले निर्वाचनको लोकतान्त्रिक मूल्य धराशायी गर्न सक्छ। साथै, केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले मतदाताको कुराकानीमा आधारित हार–जीतको भविष्यवाणी वा मत सर्वेक्षण सार्वजनिक गर्दै आएका छन्, जसप्रति आयोग गम्भीर रूपमा आपत्ति जनाएको छ। कार्यवाहक आयुक्त भण्डारीले भन्नुभयो, “मतदान हुनुअघि नतिजाको अनुमान वा सर्वेक्षण सार्वजनिक गर्नु मतदाताको स्वतन्त्र निर्णय अधिकारमा प्रतिकूल असर पार्छ। यसले उम्मेदवारलाई हतोत्साही बनाउँछ र स्वच्छ प्रतिस्पर्धाको वातावरण बिगार्छ। त्यसैले यस्ता कार्य तत्काल रोक्न अनुरोध गर्दछौँ।” ‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार मतदान हुनुअघि कुनै पनि प्रकारको मत सर्वेक्षण वा नतिजा घोषणा निषेध गरिएको छ। आयोगले सञ्चार माध्यम, राजनीतिक दल, उम्मेदवार र आम नागरिकलाई यसको पूर्ण पालना गर्न अपिल गरेको छ।

Tokha