लागुऔषध ओसारपसार: काठमाडौँमा ९९ जनाविरुद्ध मुद्दा दर्ता
लागुऔषध ओसारपसार: काठमाडौँमा ९९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ, ६ फागुनः नेपाल प्रहरीले गत माघ महिनामा लागुऔषध कारोबारको अभियोगमा ९९ जनालाई पक्राउ गरेको छ। सात महिलासहित पक्राउ परेकामाथि काठमाडौँका विभिन्न क्षेत्रहरूमा चलाइएको खोजी अभियानको क्रममा लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि हालसम्म ६५ मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेका व्यक्तिहरूबाट खैरो हेरोइन ५५.१८ ग्राम, ट्रमाडोल २३ हजार ३०० ट्याबलेट, नाइट्राजेपाम २ हजार ८१३ एम्पुल बरामद भएको छ। साथै गाँजा २ किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल, स्पामो १२६ क्याप्सुल, र पोल्याण्ड ६७८ ग्राम पनि बरामद गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरीले जनाएको छ कि गत एक महिनामा यहाँ ३६ आत्महत्याका घटना भएका छन्। ती घटनामा १९ देखि ३९ वर्ष उमेर समूहका २७ व्यक्ति रहेको र २४ पुरुष रहेको तथ्य सार्वजनिक गरिएको छ। त्यसैगरी, अनुचित लेनदेनसम्बन्धी सात मुद्दा दर्ता गरिएको छ भने दुई मुद्दा मिलापत्रमार्फत समाधान गरिएको छ। यी मुद्दाहरूमा कुल रु आठ करोडभन्दा बढीको मागदाबी रहेको प्रहरीले जानकारी दिएको छ।