स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ, ६ फागुन: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई पात्रो वा भित्तेपात्रो छापेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने जनाएको छ। समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो वा क्यालेण्डर प्रकाशन गर्न पाइँदैन। स्वीकृति नलिई प्रकाशन गरेमा १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको उहाँले बताउनुभयो। Nepal Panchang Nirnayak Development Committee गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिको अनुमति लिएपछि मात्र पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने उल्लेख छ। साथै समितिको दिग्दर्शनको परिच्छेद १५ अनुसार स्वीकृति नलिई प्रकाशन गरेमा आर्थिक जरिवाना लगाइने प्रावधान छ। यस सम्बन्धमा अनुगमन तथा कारबाहीको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ। बेच्ने उद्देश्यका साथै निःशुल्क वितरण गरिने पात्रो वा भित्तेपात्रो प्रकाशनका लागि पनि स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। समितिले प्रकाशन स्वीकृतिका लागि शुल्कसमेत निर्धारण गरेको छ। शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेण्डरका लागि रु २ हजार, निःशुल्क वितरणका लागि रु ५ हजार तथा मूल्य राखेर बिक्रीका लागि प्रकाशन गरिने क्यालेण्डरका लागि रु १० हजार शुल्क लाग्ने बताइएको छ। यो व्यवस्था लागू भएपछि पात्रो प्रकाशन क्षेत्रमा एकरूपता कायम हुनुका साथै आधिकारिक पञ्चाङ्ग सम्बन्धी जानकारीको सही प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Tokha