काठमाडौं, ६ माघ : नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पार्नुभएको छ। घरदैलो कार्यक्रमका क्रममा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले आफ्ना विकास योजनाबारे जानकारी गराइरहनुभएको छ। आज टोखामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता पोखरेलले एमाले देश निर्माणमा समर्पित शक्ति भएको उल्लेख गर्नुभयो। “एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” उहाँले भन्नुभयो। साथै, कार्यकर्ता तथा समर्थकलाई जनताको माझ पुगेर पार्टीका एजेन्डा स्पष्ट रूपमा राख्न आग्रह गर्नुभयो। नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने तथा समाधानका लागि प्रतिबद्ध रहने पनि बताउनुभयो। फरक परिस्थितिमा हुन लागेको निर्वाचनमा देशलाई सही दिशातर्फ लैजान एमालेको जित आवश्यक रहेको उहाँको भनाइ छ। घरदैलो अभियानका क्रममा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उहाँले काठमाडौं क्षेत्र नम्बर ५ का लागि तयार पारिएका विकासका योजनाहरू पनि मतदातासमक्ष प्रस्तुत गरिरहनुभएको छ। क्षेत्रलाई नमूना बनाउने प्रतिबद्धतासहित उहाँ मत माग्न व्यस्त रहनुभएको छ।