देशभर १५ स्थानमा आगलागीका घटना

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौँ, ६ फागुन :राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फागुन ४ गते बिहान १० बजेदेखि ५ गते बिहानसम्म देशभर कुल १९ वटा विपद्का घटना दर्ता भएका छन्। तीमध्ये १५ वटा आगलागीका घटना रहेको प्राधिकरणले जनाएको छ। असावधानीका कारण आगलागीका घटना बढिरहेको विवरणमा उल्लेख गरिएको छ। हिउँदको सुक्खा मौसममा सामान्य सावधानी अपनाउँदा समेत यस्ता घटना न्यूनीकरण गर्न सकिने प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार तेह्रथुम, संखुवासभा र मोरङमा एक–एक वटा आगलागीका घटना भएका छन् भने सिरहा, सर्लाही र स्याङजामा दुई–दुई वटा आगलागी भएका छन्। यस्तै बारा, पर्सा, रुपन्देही र बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिमा क्षति पुगेको छ। संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलो लागेको छ भने बैतडीमा जनावरको आक्रमणको घटना भएको विवरणमा उल्लेख छ। यी विपद्का घटनामा परी ६ जना घाइते भएका छन् भने करिब ३४ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। प्राधिकरणले हिउँदको समयमा सुक्खापन बढ्ने भएकाले आगलागीको जोखिम उच्च रहनेतर्फ ध्यानाकर्षण गराउँदै सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरेको छ।

Tokha