पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ

काठमाडौँ, ६ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले पर्व–संस्कृतिले समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ। आज ग्याल्पो ल्होसार २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्नुभयो। ग्याल्पो ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता र पारस्परिक सद्भावलाई मजबुत बनाउँदै बृहत् राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पा समुदायलगायत महायान बौद्ध धर्मावलम्बीले फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा यो पर्व मनाउने परम्परा रहिआएको छ। पर्वका अवसरमा गाउँ–टोलका बाटोघाटो तथा पानीका मुहान सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाइएको गुथुक र खाप्से जस्ता परिकार सामूहिक रूपमा खाने तथा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष स्वागत गर्ने परम्परा रहेको उल्लेख गरिएको छ। ग्याल्पो ल्होसारले नयाँ उमङ्ग र सकारात्मक ऊर्जा बोकेर समाजमा प्रेम, भाइचारा र सहअस्तित्वको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

Tokha