आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ६ फागुन : नेपालको हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले आज विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रम गरी Gyalpo Lhosar मनाउँदै छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्ने यो पर्व शेर्पा समुदायको नयाँ वर्षका रूपमा मनाइन्छ। पर्वको अवसरमा गाउँ–टोलका बाटोघाटो तथा पानीका मुहान सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार ‘गुथुक’ तथा ‘खाप्से’ खाने र आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहिआएको छ। यसलाई पारिवारिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ। महायान बौद्ध परम्पराअनुसार चन्द्र पात्रोको गणनाका आधारमा फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष प्रारम्भ हुने विश्वाससहित यो पर्व मनाइन्छ। विशेषगरी हिमाली क्षेत्रका शेर्पा समुदायले गुम्बा दर्शन, धर्मगुरु तथा लामाबाट आशीर्वाद ग्रहण गर्ने चलन कायम राखेका छन्। पर्वका अवसरमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उत्सवले वातावरण उल्लासमय बनेको छ। घरपरिवार र आफन्तसँग भेला भई खाप्से, डेशिल र गुथुक जस्ता विशेष परिकारको स्वाद लिँदै नयाँ वर्षको स्वागत गर्ने परम्पराले समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिन्छ। नयाँ आशा, उमङ्ग र उत्साह बोकेको ग्याल्पो ल्होसारले समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास गरिन्छ। यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्ने सांस्कृतिक सन्देश दिएको छ।

Tokha