विश्वकपमा १२ वर्षपछि नेपालको पहिलो जित

विश्वकपमा १२ वर्षपछि नेपालको पहिलो जित

मुम्बई, फागुन ६ ; नेपालले आइसिसी टी–ट्वान्टी विश्वकपमा १२ वर्षपछि ऐतिहासिक जित दर्ता गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले Scotland लाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको यात्रा सुखद रुपमा टुंग्यायो। नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकपमा खेल जित्न सफल भएको हो। यस जितले नेपाली टोलीले लामो समयपछि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता पुनः प्रमाणित गरेको छ। १७१ रनको लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्र सिंह ऐरी र गुलशन झाले चौथो विकेटका लागि ७३ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाउँदै लगातार दोस्रो अर्धशतक पूरा गरे भने गुलशन २४ रनमा नटआउट रहे। ओपनर कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३३ रन बनाउँदै पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे, जसले नेपालको जितको आधार तयार गर्‍यो। कप्तान रोहित पौडेलले १६ रन योगदान दिए।

Tokha