काठमाडौँ, ५ फागुन: काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६ अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये १५९ मुद्दा जघन्य तथा गम्भीर अपराधका रहेका छन्, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो। महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित मुद्दा २२ रहेको छ भने आर्थिक अपराधका ४६६ मुद्दा दर्ता भएका छन्। बाँकी ३४० मुद्दा अन्य विभिन्न प्रकारका अपराधका हुन्। यसबीच, प्रहरीले ‘विशेष अपरेसन’ चलाएर मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरेको छ। फैसला कार्यान्वयनतर्फ ३६० जनालाई पक्राउ गरी रु २ करोड २० लाख जरिवाना असुल गरिएको छ। चालु मुद्दातर्फ ७०९ जना पक्राउ परेका छन्, जसमा ६३७ पुरुष छन्। महिला बालबालिकासँग सम्बन्धित उजुरीमध्ये घरेलु हिंसामा १४९ र ठाडो निवेदनमा ४९ मुद्दा दर्ता भएका थिए। यसमा घरेलु हिंसाका १३१ र ठाडो निवेदनमा ३६ मिलापत्र भएको प्रहरीले जानकारी दिएको छ।