काठमाडौँमा ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षण : ११ जनालाई तत्काल अस्पताल पठाउन आवश्यक
काठमाडौँमा ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षण : ११ जनालाई तत्काल अस्पताल पठाउन आवश्यक
काठमाडौँ, ५ फागुन: काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने पाइएको छ। गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षणका क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जनाएको छ। कार्यक्रमका ‘फोकल पर्सन’ अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठका अनुसार, २०८ जनालाई नियमित निगरानी आवश्यक देखिएको छ। सर्वेक्षण ८४ प्रश्नावलीका आधारमा गरिँदैछ। तथ्याङ्क अनुसार ८२ जना ज्येष्ठ नागरिक आर्थिक अवस्था कमजोर भएका कारण औषधोपचारमा कठिनाइ भोगिरहेका छन् भने १९२ जना बीमा नगरिएका पाइएको छ। श्रेष्ठले सर्वेक्षणमा सहभागी ज्येष्ठ नागरिकलाई **हरियो, पहेँलो र रातो ‘जोन’**मा वर्गीकृत गरिएको जानकारी दिइन्। हरियो जोन: सुरक्षित अवस्था, विशेष निगरानी आवश्यक छैन। पहेँलो जोन: चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी आवश्यक। रातो जोन: तत्काल अस्पताल पठाउनुपर्ने अवस्था, नजिकको स्वास्थ्य संस्थामा ‘रेफर’ गरिने। सर्वेक्षणमा ३०२ महिला र १५० पुरुष गरी ४५२ जना ज्येष्ठ नागरिक समेटिएका छन्। तीमध्ये ४२३ जना परिवारसँगै बस्छन्। सर्वेक्षणले शारीरिक र मानसिक स्वास्थ्य, औषधि प्रयोग, तौल परिवर्तन, पारिवारिक र सामाजिक अवस्था जस्ता विषय समेटेको छ। ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। ७० वर्षमाथिका र अस्पताल जान नसक्ने व्यक्तिलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित यो सर्वेक्षण र उपचार कार्यक्रम सञ्चालन गरिएको छ।