राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व: राष्ट्रपति पौडेल
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व: राष्ट्रपति पौडेल
काठमाडौँ, ५ फागुन: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय योगदान रहेको बताएका छन्। नेपाल शेर्पा सङ्घद्वारा आयोजित २१५३औँ ग्याल्पो लोसार (नयाँ वर्ष) कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जाति भएको उल्लेख गर्दै, यस समुदायले विश्वभर नेपालको शान र गौरव बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उहाँले शेर्पा समुदायसँगै नेपालका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व हाम्रो मौलिक पहिचान भएको र यसलाई संरक्षण गर्दै राष्ट्रिय एकताको भावना सुदृढ गर्नु हाम्रो साझा दायित्व भएको पनि जोड दिनुभयो। राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि हासिल गरेमा मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ बलियो हुने बताएका छन्। साथै, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउनुमा सबैलाई आव्हान गर्नुभयो।