भक्तपुरमा एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता, ११० जना पक्राउ
भक्तपुरमा एक महिनामा १५२ आपराधिक मुद्दा दर्ता, ११० जना पक्राउ
भक्तपुर, ५ फागुन : जिल्ला प्रहरी परिसर भक्तपुरमा विगत एक महिनामा १५२ वटा आपराधिक घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा संलग्न ११० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार गत माघ महिनामा जघन्य तथा गम्भीर अपराधअन्तर्गत दुई वटा हत्या भएका छन्। सो अवधिमा लागुऔषधका आठ, बहुविवाह एक, बैंकिङ कसुरका ६२, ठगीका सात, चोरीका १६, जुवाको एक तथा आत्महत्याका दुई मुद्दा दर्ता गरिएको छ। विभिन्न घटनामा संलग्न ३२ जनालाई कैद सजायका लागि कारागार चलान गरिएको र फैसला कार्यान्वयनतर्फ दुई वर्ष नौ महिना एक दिनको कैद सजाय भुक्तानका लागि समेत कारागार पठाइएको प्रहरीले जनाएको छ। साथै, रु ६७ लाख ४७ हजार ८० बराबर जरिवाना तथा बिगो सङ्कलन गरिएको जानकारी दिइएको छ। हत्या अभियोगमा भक्तपुर नगरपालिका–३ निवासी ३८ वर्षीया लालमाया तामाङको घटनामा काभ्रे तिमाल गाउँपालिका–९ घर भई भक्तपुरमा बसोबास गर्ने ३६ वर्षीय लनाम तामाङ पक्राउ परेका छन्। यस्तै, मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा आफ्नै आमाको हत्या आरोपमा पक्राउ परेका सिन्धुलीका प्रविन भण्डारीलाई पनि पुर्पक्षका लागि जेल चलान गरिएको छ। महिला हिंसासम्बन्धी ३६ उजुरीमध्ये २६ वटा मिलापत्र गरिएको र १० वटा अनुसन्धानका क्रममा रहेका छन्। हराएका ३२ जनामध्ये २३ जना फेला पारिएको प्रहरीले जनाएको छ। सवारी दुर्घटनातर्फ गत माघमा २२७ दुर्घटनामा ३४० वटा सवारीसाधन संलग्न हुँदा पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो। ती घटनामा ११५ जना घाइते भएका छन्। यसैगरी, सवारी चेकजाँचका क्रममा एक हजार ६०७ सवारीसाधनलाई कारबाही गरी रु ११ लाख ४२ हजार २०० राजस्व सङ्कलन गरिएको छ।