वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार भट्ट र कारञ्जितलाई प्रदान गरिने

वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार भट्ट र कारञ्जितलाई प्रदान गरिने

काठमाडौँ, ५ फागुन : विसं २०८२ को वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख उपसमाचारदाता सिद्धराज भट्ट र कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत कार्यालय सहयोगी गौरी कारञ्जितलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रासस कर्मचारी सङ्घले प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक दुवैजनालाई संयुक्त रूपमा दिने निर्णय गरिएको सङ्घका महासचिव छविलाल कुमालले जानकारी दिनुभयो। उक्त पुरस्कार राससको ६५औँ वार्षिकोत्सवका अवसरमा फागुन ७ गते आयोजना हुने मूल समारोहमा वितरण गरिने छ। भट्ट विसं २०५२ वैशाखदेखि र कारञ्जित विसं २०७१ जेठदेखि राससमा कार्यरत हुनुहुन्छ। पुरस्कारको राशि जनही रु ७ हजार ७७७ र सम्मानपत्र रहेको छ। स्व. वासु रिमाल सङ्घका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो। उहाँलगायत राससका कर्मचारीको सक्रियतामा विसं २०४७ मा सङ्घ स्थापना भएको थियो। विसं २०६६ साउनमा उहाँको निधनपछि सोही वर्ष उहाँको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो। सङ्घका अध्यक्ष पवित्रा गुरागाईंका अनुसार पुरस्कार कोषमा वासु रिमालकी धर्मपत्नी शारदा रिमालले आर्थिक सहयोग गर्नुभएको छ। राससको वार्षिकोत्सवका अवसरमा सङ्घले प्रत्येक वर्ष समितिमा कार्यरत कर्मचारीलाई सम्मान गर्दै आएको छ।

Tokha