उत्पादन बढाउँदै सिंहदरबार वैद्यखाना, घाटाबाट नाफातर्फ
उत्पादन बढाउँदै सिंहदरबार वैद्यखाना, घाटाबाट नाफातर्फ
काठमाडौँ, ५ फागुन : सिंहदरबार वैद्यखाना विकास समिति फेरि उत्पादन विस्तारसँगै लयमा फर्कन थालेको छ। विसं २०७७ देखि कच्चापदार्थ अभावका कारण घटेको औषधि उत्पादन हाल पुनः वृद्धि गरिएको वैद्यखानाले जनाएको छ। कार्यकारी निर्देशक प्रदीप केसीका अनुसार तीन वर्षसम्म कच्चापदार्थ आपूर्तिका लागि ठेक्का सम्झौता नहुँदा उत्पादन प्रभावित भए पनि हाल आन्तरिक समस्या समाधान गर्दै उत्पादन बढाइएको छ। उत्पादन वृद्धिसँगै कारोबार पनि बढ्दै गएको र सरकारी औषधालयबाट मात्रै करिब रु दुई करोड बराबरको माग आएको उहाँले जानकारी दिनुभयो। एक समय आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने अवस्थाबाट वैद्यखाना साउनयता नाफामा जान सफल भएको छ। पहिले कच्चापदार्थ आपूर्ति नहुँदा उत्पादन ठप्प भइरहँदा सात महिनासम्म कर्मचारीले तलबसमेत नपाउने अवस्था आएको थियो। अहिले नियमित उत्पादन भएपछि कर्मचारीले नियमित पारिश्रमिक पाउन थालेका छन्। विसं २०७७ मा १२ प्रकारका मात्र औषधि उत्पादन हुने गरेकोमा हाल ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन्। तीमध्ये ३० प्रकारका औषधि सरकारी औषधालयमा पठाइने गरिएको छ। वैद्यखानाका अनुसार देशभरबाट माग बढ्दो भए पनि उत्पादन क्षमता सीमित भएकाले हाल सरकारी निकायबाहेक अन्यलाई औषधि उपलब्ध गराउन नसकिएको अवस्था छ। यस वर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि आपूर्ति गर्ने लक्ष्यसहित काम भइरहेको वैद्यखानाले जनाएको छ। शिलाजित, च्यवनप्रास, निमिया, चन्द्रप्रभावटी, महायोगराज, कान्चनार र त्रिफलाजस्ता आयुर्वेदिक औषधिको माग उच्च रहेको छ। साथै १५ वर्षदेखि बन्द रहेको स्वर्णभ्रष्म विन्दुको उत्पादन पनि पुनः सुरु गरिएको छ।