महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ सुरु

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ सुरु

काठमाडौँ, ५ फागुन : गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना तथा दर्शनका लागि आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ। बिहान ११ बजेदेखि मन्दिरको पश्चिम ढोकामा बिदाइ कार्यक्रम सुरु गरिएको हो। संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा प्रदान गरी बिदाइ गरिँदैछ। पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको जनाइएको छ। प्रत्येक वर्ष महाशिवरात्रिमा पूजा तथा दर्शनका लागि आएका साधुसन्तलाई फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ। संस्थानले उपलब्ध गराएको दक्षिणामा कोषले समेत आधा रकम थप गरी सम्मानपूर्वक बिदाइ गर्ने व्यवस्था गरिएको सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो। महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म साधुसन्तको खानपान, बसोबास तथा धुनी बाल्न आवश्यक दाउरा व्यवस्थापन कोषले गर्दै आएको छ। यस वर्ष बिदाइका क्रममा फाल्गुन कृष्ण एकादशीका दिन रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएको लोटा, चम्मर, घण्टी, राडीको सेटसहित २१ प्रकारका सामग्री पनि दक्षिणासँगै प्रदान गरिने संस्थानले जनाएको छ।

Tokha