काठमाडौँमा वायु प्रदूषण बढ्दो, सचेत रहन विज्ञहरूको आग्रह
काठमाडौँमा वायु प्रदूषण बढ्दो, सचेत रहन विज्ञहरूको आग्रह
काठमाडौँ, ५ फागुन : काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएको छ। सोमबार मध्याह्नसम्म १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (AQI) आज बढेर १९१ पुगेको छ, जुन स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्ने मानिन्छ। यस्तो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पर्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। विश्व वायु गुणस्तर सूचकाङ्कअनुसार आज काठमाडौँ विश्वकै उच्च प्रदूषित सहरमध्ये शीर्ष सूचीमा परेको छ। भारतको दिल्ली र पाकिस्तानको लाहोर पनि उच्च प्रदूषण सूचकाङ्क भएका सहरमा रहेका छन्। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुँदा हावामा रहेका धुलो तथा सूक्ष्म कण जमिनमा झर्न नसक्दा प्रदूषणको मात्रा बढ्ने गरेको छ। लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषण अझै बढ्न सक्ने भन्दै सम्बन्धित निकायलाई दीगो तथा वातावरणमैत्री उपाय प्रभावकारी रूपमा लागू गर्न सुझाव दिइएको उहाँको भनाइ छ। वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल–पेट्रोलको धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधारबाट उठ्ने धुलो, वन डढेलो तथा सुक्खा मौसमले प्रदूषण बढाएको हो। समयमै नियन्त्रणका उपाय नअपनाए अवस्था थप जटिल बन्न सक्ने चेतावनी पनि उहाँले दिनुभयो। AQI मापनअनुसार ०–५० राम्रो, ५१–१०० सचेत रहनुपर्ने, १०१–१५० अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथि अत्यन्त खतरनाक मानिन्छ। नेपाल सरकारले तयार पारेको वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाअनुसार AQI ३०० नाघेमा विपद् अवस्था मानिने उल्लेख छ। यस्तो अवस्थामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि आधुनिक उपकरण प्रयोग गर्ने तथा संवेदनशील समूहलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था गरिएको छ।