प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न, आजदेखि ढुवानी सुरु
प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न, आजदेखि ढुवानी सुरु
भक्तपुर, ५ फागुन : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोमबार साँझ मतपत्र छपाइको काम सकिएको जनाएको हो। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोगले दिएको जिम्मेवारी निर्धारित समयअगावै सम्पन्न गरिएको छ। आजदेखि मतपत्रको प्याकेजिङ सकी सम्बन्धित प्रदेशतर्फ ढुवानी सुरु गरिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्यक्षतर्फ करिब दुई करोड तीन लाख मतपत्र छपाइ कार्य ४२ दिनको तालिका भए पनि ४० दिनमै सम्पन्न गरिएको हो। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याइने लक्ष्य रहेको बताइएको छ। केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी विभिन्न स्थानमा पठाइसकिएको छ भने समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने कार्य जारी रहेको जनाएको छ। प्रबन्ध निर्देशक पौडेलका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको तथा बाँकी क्षेत्रमा पनि १० दिनभित्र पुर्याइने गरी काम भइरहेको छ।