विदेश पठाउने बहानामा ६५ लाखभन्दा बढी ठगी, चार जना पक्राउ
विदेश पठाउने बहानामा ६५ लाखभन्दा बढी ठगी, चार जना पक्राउ
काठमाडौं, ५ फागुन : वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का ५१ वर्षीय धर्मप्रसाद राई, तार्केश्वर नगरपालिका–७ की ३५ वर्षीया निमा डोल्मा लामा, अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला तथा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु ५ लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु ५० लाख, निरौलाले टर्की पठाउने भन्दै रु २ लाख ३ हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै रु ७ लाख ५० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।