काठमाडौँ, ४ फागुनः वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ। निर्देशक घिमिरेका अनुसार चलचित्रको प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलपछि तय गरिएको हो। विदेश पलायनका कारण खाली हुँदै गएका पहाडी बस्ती र त्यसले निम्त्याउने सामाजिक तथा आर्थिक समस्यालाई चलचित्रको मुख्य विषय बनाइएको निर्देशक घिमिरेले बताउनुभयो। उहाँले मानव बसोबासविहीन बन्दै गएको उच्च पहाडको यथार्थ चित्रण गर्दै देशप्रतिको दायित्व र पहिचानबारे प्रश्न उठाइएको उल्लेख गर्नुभयो। निर्देशक घिमिरेले नयाँ तथा पुराना पुस्ताका कलाकारसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै दर्शकले चलचित्रमा आफ्नोपन र आफ्नो कथा अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो। चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ तथा सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई यस चलचित्रमार्फत अभिनेत्रीका रूपमा प्रस्तुत गर्दै हुनुहुन्छ। चलचित्रको छायाङ्कन प्रसिद्ध छायाकार प्रमोद प्रधानले गर्नुभएको छ भने निर्माण ओजस्वी केसीले गर्नुभएको हो। प्राविधिक टोलीमा निर्देशककी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको भूमिका सम्हालेकी छन्। चलचित्रमा रञ्जित गजमेर को संगीत रहनेछ।