महाशिवरात्रिः पशुपतिनाथमा चार प्रहरको पूजा सम्पन्न, लाखौँ भक्तजनको दर्शन

महाशिवरात्रिः पशुपतिनाथमा चार प्रहरको पूजा सम्पन्न, लाखौँ भक्तजनको दर्शन

काठमाडौँ, ४ फागुन — महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातभर भक्तजनको भीड लागिरह्यो। चिसो मौसम र साँझपछिको कठ्याङ्ग्रिने हावाका बावजुद पनि झिलिमिली बत्तीले सजिएको पशुपति क्षेत्र भक्तजनले भरिएको थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार साँझदेखि सुरु भएको भक्तजनको चहलपहल सोमबार बिहानसम्म निरन्तर कायम रह्यो। महाशिवरात्रिका अवसरमा रातभर मन्दिर खुला राखिएको थियो भने मन्दिर प्रवेश गर्ने मूलढोका पनि बन्द गरिएको थिएन। आइतबार सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा सोमबार बिहान ६ बजाअघि सम्पन्न भएको कोषले जनाएको छ। राति १० बजेपछिसमेत मुख्य क्षेत्र प्रवेशद्वार बाहिरसम्म भक्तजनको लाम देखिएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्। विगत वर्षहरूमा राति ढिलोपछि मूलढोकाभित्र मात्रै लाइन सीमित गरिने गरे पनि यस वर्ष भक्तजनको उल्लेख्य उपस्थिति रहेकाले मूलढोका बन्द नगरी पूजा सञ्चालन गरिएको बताइएको छ। महाशिवरात्रिका अवसरमा लाखौँ श्रद्धालुले पशुपतिनाथ मन्दिर मा पूजा–आराधना तथा दर्शन गरेका छन्। गोकर्णेश्वरमा हजारौँ भक्तजनको सहभागिता यसैबीच गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पनि रातिसम्म भक्तजनको ठूलो भीड देखिएको थियो। मन्दिर परिसरलाई आकर्षक बत्तीले सजाइएको थियो। धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने भएकाले धेरै श्रद्धालु दुवै मन्दिरमा दर्शनका लागि पुगेका थिए। भक्तजनको भीडका कारण मन्दिर क्षेत्रमा जम्मा भएको फोहर व्यवस्थापनका लागि वाग्मती सुन्दरता सरोकार मञ्चले सफाइ अभियान सञ्चालन गर्ने जनाएको छ। मञ्चले नियमित रूपमा गुह्येश्वरी आसपासको वाग्मती नदी क्षेत्रमा सफाइ अभियान चलाउँदै आएको छ। बाणेश्वर र नागेश्वरमा पनि रातभर भक्तजनको लाम पशुपति क्षेत्रअन्तर्गत गोठाटारस्थित नागेश्वर महादेव मन्दिर मा पनि आइतबार बिहानैदेखि भक्तजनको लाम लागेको थियो। मन्दिर व्यवस्थापन समितिका अनुसार छ जना ब्राह्मणद्वारा चारै प्रहर पूजा तथा रुद्राभिषेक सम्पन्न गरिएको थियो। समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार महाशिवरात्रिका अवसरमा हजारौँ भक्तजनले नागेश्वरमा दर्शन गरेका छन्। धार्मिक विश्वासअनुसार बाणेश्वर र नागेश्वरको दर्शनले शुभफल प्राप्त हुने विश्वास रहिआएको छ। देशभरका शिवालयमा उत्साहपूर्ण पूजा राजधानीसहित देशभरका शिवालयहरूमा पनि रातिसम्म भक्तजनको भीड लागेको थियो। फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने महाशिवरात्रि पर्व हरेक वर्ष विशेष श्रद्धा र उत्साहका साथ मनाउने गरिन्छ।

Tokha