काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य ‘करेक्सन’ देखिएको छ । आइतबार ५७ अंकले बढेको नेप्से सूचक सोमबार ३.०७ अंकले घटेर २७६९.०९ अंकमा बन्द भएको हो ।
नेप्सेमा सूचकमा गिरावट आए पनि कारोबार रकमले बजारमा उत्साह कायम राखेको छ । देशभर बढ्दो चुनावी माहोलसँगै सेयर बजारमा सुधार देखिँदै आएको र लगानीकर्ताले पुनः लगानी बढाइरहेको नेप्सेले जनाएको छ । सोमबारको कुल कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ, जुन आइतबारको १३ अर्ब ७८ करोड रुपैयाँभन्दा करिब २ अर्ब बढी हो ।
सोमबार नेप्सेमा ३३२ कम्पनीका १ लाख ४७ हजार ६ सय ७६ कारोबारमा ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएका छन् । ८८ कम्पनीका सेयर मूल्य बढेका छन् भने ७ कम्पनीमा मूल्यमा कुनै परिवर्तन देखिएको छैन। एसवाई प्यानल, हिमस्टार, सान्भी पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
समूहगत परिसूचकका हिसाबले बैंकिङ २.३६, विकास बैंक ३.७८, वित्त १२.१४, लगानी ०.५९, जीवन बिमा ७१.४६, लघुवित्त २५.५४, निर्जीवन बिमा १९.३३, अन्य १२.४४ र व्यापार ४.७१ अंकले घटेका छन् ।
तर होटल १२७.६८, जलविद्युत् ११.०४, उत्पादनमूलक ३८.९४ र सामूहिक लगानी कोष ०.१६ अंकले बढेका छन्, जसको समग्र नेप्से सूचकमा न्यून प्रभाव परेको छ ।

































