पूर्वप्रधानमन्त्री शेख हसीनालाई मृत्युदण्ड

पूर्वप्रधानमन्त्री शेख हसीनालाई मृत्युदण्ड

एजेन्सी । बंगलादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसीनालाई गत वर्ष विद्यार्थी नेतृत्वमा सुरु भएको आन्दोलनमाथि गरिएको हिंसात्मक दमनका आरोपमा ढाकास्थित विशेष अदालतले अनुपस्थितमै मृत्युदण्ड सुनाएको छ।

अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलका तीन न्यायाधीशको इजलासले हसीनालाई मानवता विरुद्धका अपराध, हत्या गर्न उक्साहन तथा राज्यद्वारा गरिएको दमन रोक्न असफलता जस्ता गम्भीर अभियोगमा दोषी ठहर गरेको हो।

देश छाडेर भारत पुगेकी हसीना अहिले त्यहीँ निर्वासनमा बसिरहेकी छन्। बंगलादेश सरकारले पठाएको प्रत्यर्पण अनुरोध भारतले अस्वीकार गरेको बताइएको छ।

फैसला सार्वजनिक हुनेबित्तिकै ढाकामा कडा सुरक्षा व्यवस्था गरिएको थियो। अदालत परिसरमा मारिएका प्रदर्शनकारीका परिवारजन भावुक बनेका दृश्यहरू देखिएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार विद्यार्थी-नागरिकको संयुक्त रूपमा भएको ‘जुलाई क्रान्ति’ का क्रममा सुरक्षाबलको बल प्रयोगले करिब १,४०० जनाको मृत्यु भएको अनुमान गरिएको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो राजनीतिक हिंसा मानिन्छ।

Tokha