रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक वृद्धि, तीन महिनामै साढे ५ खर्ब ५३ अर्ब भित्रियो

रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक वृद्धि, तीन महिनामै साढे ५ खर्ब ५३ अर्ब भित्रियो

काठमाडौं । तीन महिनामै साढे ५ खर्ब रेमिट्यान्स आप्रवाह भएको छ । विदेशमा रहेका नेपालीले साउनदेखि असोजसम्ममै ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पठाएका हुन् ।

रेमिट्यान्स गत आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको तुलनामा ३५ प्रतिशतले बढेको छ । चालु आव २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको छ । २०८१ असोजमा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । गत वर्ष आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा खुद ट्रान्सफर ४ खर्ब ४३ अर्ब ७६ करोड थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ थियो ।

Tokha