काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाज विजयी भएको छ । काठमाडौंले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो ।
जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र रवी बोपराले समान २१-२१ तथा सोहेल तनभिरले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका राशिद खानले तीन, कप्तान करण केसी, साशब आलम र मिलिन्द कुमारले दुई-दुई विकेट झारे ।
यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.४ ओभरमा १४२ रनमा अलआउट भएको हो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई, रञ्जित कुमारले दुई विकेट हात पारे ।

































