काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ओरालो लागेको छ । बुधबारको तुलनामा नेप्से ०.९३ अंकले घटेर २,५६० अंकमा ओर्लिएको हो ।सूचक घटे पनि बजारमा भएको कुल कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार हुँदा आज कारोबार बढेर ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। आज ११२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीमा गिरावट रह्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
होटल तथा पर्यटन समूह अग्रपङ्क्तिमा
सबैभन्दा बढी वृद्धिदर देखाउने समूह होटल तथा पर्यटन रह्यो, जसमा १.१६ प्रतिशतले बढेको छ भने जलविद्युत ०.०९, उत्पादन तथा प्रशोधन ०।३२, लघुवित्त ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशतले बढ्यो।
बैंकिङ र बिमा समूह कमजोर
बैंकिङ ०.३४, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बिमा ०.०६ तथा निर्जीवन बिमा ०.३३ प्रतिशतले घट्यो ।
१० प्रतिशतभन्दा बढी बढ्ने कम्पनीहरू
आज १० प्रतिशत वृद्धि पाउने कम्पनीहरूमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी रहेका छन् । धौलागिरीबाहेक अन्य तीन कम्पनी हालै मात्र सूचीकृत भएका हुन् ।
सिन्धु विकास बैंकको मूल्य ९.६० प्रतिशत, सप्तकोशी विकास बैंकको ७.७१ प्रतिशत र चिरख्वा हाइड्रोपावरको ६.८० प्रतिशतले बढ्यो।
सबैभन्दा धेरै घट्नेमा बुंगल हाइड्रो
मूल्य घट्ने सूचिमा बुंगल हाइड्रोपावर ९.०५ प्रतिशत गिरावटसहित पहिलो रह्यो । त्यसपछि दरामखोला ४.९१ र विकास हाइड्रोपावर ३.७९ प्रतिशतले घट्यो ।

































