पूर्वसचिव डा. मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

पूर्वसचिव डा. मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। जेन-जी नेतृत्वको सरकारले स्वास्थ्यमन्त्री बनाउन सक्ने सम्भावित नामको रूपमा चर्चामा रहेकी मिश्रामाथि स्वास्थ्य सेवा विभागमा कार्यरत रहँदा अनियमितता गरेको आरोप छ।

अख्तियार स्रोतका अनुसार, मिश्राविरुद्धको आरोपपत्र विशेष अदालतमा दर्ता गर्ने प्रक्रिया सुरु भइसकेको छ। ‘मुद्दाको फाइल अदालतमा पुगेको छ, हाल रुजु र दर्ता कार्य चलिरहेको छ,’ स्रोतले जानकारी दियो।

डा. मिश्र स्वास्थ्य मन्त्रालयमा सचिव पदको दावेदार थिइन्। तर सरकारले सो पदमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि उनी विदामा गएकी थिइन्। जेन-जी आन्दोलनपछि बनेको नयाँ सरकारसँगै उनी फेरि मन्त्रालयमा सक्रिय हुन थालेकी थिइन्।

स्वास्थ्यमन्त्रीको रूपमा उनको नाम अघि सारिँदै गर्दा अख्तियारले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी प्रधानमन्त्री सुशीला कार्की निकट निकायलाई गराएको बताइन्छ। सो जानकारी सार्वजनिक भएपछि मन्त्रालयमा उनको सम्भावित नियुक्ति स्थगित गरिएको थियो ।

अख्तियारका अनुसार, मिश्राले स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा काम गर्दा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता र पदको दुरुपयोग गरेको प्रमाण भेटिएको छ। सोही आधारमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Tokha