हिमाली क्षेत्रमा सर्वाधिक मूल्यवृद्धि, राष्ट्रिय मुद्रास्फीति २.७२ प्रतिशत

हिमाली क्षेत्रमा सर्वाधिक मूल्यवृद्धि, राष्ट्रिय मुद्रास्फीति २.७२ प्रतिशत

काठमाडौं । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महंगी देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७३, तराईको २.५८, पहाडको २.४८ र हिमालको ४.१८ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ०.५४ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.०६, गैर-मदिराजन्य पेयपदार्थको ५.१३, फलफूलको ३.५१ र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ ।

तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.४३, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२, शिक्षाको ५.८८, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।

त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९० र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१८, मधेशको २.५२, बागमतीको २.२९, गण्डकीको १.७५, लुम्बिनीको २.३९, कर्णालीको २.५४ र सुदूरपश्चिम प्रदेशको ३.८६ प्रतिशत रहेको छ ।

Tokha