काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स साढे १५ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थीती सम्बन्धी तथ्यांकले आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको देखिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७. २ प्रतिशतले बढ़ेको थियो । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १२८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढ़ेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तों संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।

































