परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड

परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड

काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले विश्वमा बढ्दो द्वन्द्व र विभाजन अन्त्य गर्न आपसी विश्वास, संवाद र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (ICAPP) को १३औँ महासभालाई सम्बोधन गर्दै राईले द्वन्द्वभन्दा संवाद र विभाजनभन्दा सहकार्य आवश्यक रहेको बताए।

उनले नेपालको ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने परराष्ट्र नीतिको चर्चा गर्दै भारत र चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे।

राईले जलविद्युत्, स्वच्छ ऊर्जा, अन्तर्राष्ट्रिय लगानी र प्रविधिमार्फत नेपालको आर्थिक विकास गर्न सकिने बताए। साथै, विदेशमा कार्यरत नेपाली श्रमिकको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको बाढी, पहिरो र जनधनको क्षतिको विषय उठाउँदै उनले प्रभावित मुलुकलाई व्यावहारिक सहयोग, लगानी र प्रविधि उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे।

उनले शान्ति, सहकार्य र आपसी विश्वासका माध्यमबाट भावी पुस्ताका लागि सुरक्षित तथा समृद्ध विश्व निर्माण गर्नुपर्ने बताए।

Tokha