रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा भैरहवा र लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको अर्बौं रुपैयाँ लगानी जोखिममा परेको छ।
विमानस्थल सञ्चालन हुने अपेक्षामा पाँचतारे होटलसहित दर्जनौँ होटल तथा पर्यटन पूर्वाधार निर्माण गरिए पनि नियमित उडान नहुँदा व्यवसायीले लगानीको प्रतिफल पाउन सकेका छैनन्।
विमानस्थल सञ्चालन नहुँदा वार्षिक आठ करोड रुपैयाँभन्दा बढी सञ्चालन खर्च र सयभन्दा बढी कर्मचारी व्यवस्थापनको भारसमेत थपिएको छ।
कार्यक्रममा सहभागी मन्त्री, पर्यटन व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिले नियमित उडान सुरु गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले हवाई मार्ग, नीतिगत समस्या, प्रचारप्रसारको कमी र सेवा सुविधाको अभावलाई विमानस्थल सञ्चालनका मुख्य बाधक बताएका छन्।
वक्ताहरूले लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलाई पर्यटकीय सर्किटमा जोड्दै पर्यटकको बसाइ अवधि र खर्च बढाउनुपर्नेमा जोड दिएका छन्।
निजी क्षेत्रले ठूलो लगानी गरिसकेको अवस्थामा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न ठोस सरकारी पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।



































