भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको प्रसिद्ध पोटरी स्क्वायरमा माटाका पाला बनाउन कुमालेहरूलाई भ्याइनभ्याइ भएको छ।
तिहारमा घर, पसल तथा विभिन्न स्थानमा दीप प्रज्वलन गर्न माटाका पालाको माग बढेसँगै कुमालेहरू पाला बनाउन व्यस्त भएका हुन्।
परम्परागत रूपमा माटोबाट बनाइने पाला नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएको छ। पछिल्लो समय विद्युतीय बत्तीको प्रयोग बढ्दै गए पनि तिहारमा माटाका पाला बाल्ने परम्परा र आकर्षण भने कायमै छ।
तिहारको सांस्कृतिक र धार्मिक महत्वसँग जोडिएका माटाका पालाले भक्तपुरका कुमालेहरूको परम्परागत पेसा र हस्तकलालाई समेत जीवन्त राख्दै आएका छन्।



































