काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
तीन खेलबाट एक जित र दुई हारसहित २ अंक जोडेको विराटनगर अंकतालिकाको छैटौँ स्थानमा छ। प्लेअफको शीर्ष चारमा स्थान बनाउन विराटनगरलाई आजको खेल जित्नुपर्ने दबाब छ।
अर्कोतर्फ, तीन खेलबाट दुई जित र एक हारसहित ४ अंक जोडेको जनकपुर दोस्रो स्थानमा छ। जनकपुर पनि जित निकाल्दै आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा छ।
टस जितेको जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगरले पहिले ब्याटिङ गर्दै ठूलो लक्ष्य प्रस्तुत गर्ने योजना बनाएको छ।
आज विराटनगर पराजित भए प्लेअफ सम्भावना समाप्त हुने छैन। तर बाँकी तीन खेल जित्नुपर्ने दबाब बढ्नेछ। समान अंक भएका टोलीबीच नेट रनरेटसमेत निर्णायक बन्न सक्ने भएकाले विराटनगरलाई जितसँगै राम्रो रनरेट कायम राख्नु आवश्यक छ।
विराटनगरका बाँकी खेल:
- नोभेम्बर ५ : काठमाडौं गोर्खाज
- नोभेम्बर १२ : पोखरा एभेन्जर्स
- नोभेम्बर १४ : लुम्बिनी लायन्स
जनकपुर जितको लय कायम राख्न चाहन्छ भने विराटनगर प्लेअफ यात्रालाई बलियो बनाउन आजको खेल जित्ने लक्ष्यमा छ



































