सरकारलाई रक्षा बमको चेतावनी : ‘जनताले तपाईंहरूको ल्याकत नापिरहेका छन्’

सरकारलाई रक्षा बमको चेतावनी : ‘जनताले तपाईंहरूको ल्याकत नापिरहेका छन्’

काठमाडौँ । रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात तथा खानपानसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपर्ने अवस्थाप्रति प्रश्न उठाएकी हुन्।

बमले नागरिकले वर्षौँदेखि भोग्दै आएका यस्ता समस्या समाधान गर्न लामो समय आवश्यक नपर्ने उल्लेख गर्दै सरकारले सामान्य सुधारका कामसमेत गर्न नसकेको भन्दै आलोचना गरेकी छन्।

‘यस्ता समस्याको सुधारका लागि ३०–३५ वर्ष पक्कै लाग्दैनथ्यो होला । सायद ६ महिनामै पनि केही न केही गर्न सकिने काम थियो यो । तर भएन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्ने अपेक्षासहित जनताले मत दिएको उल्लेख गर्दै बमले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्।

‘नागरिकको दैनिक समस्या सुधार गर्ने हिम्मत देखेर मत दिएका हुन् जनताले । अब तपाईंहरूको सुधार गर्न सक्ने ल्याकत पनि नापिरहेका छन् है,’ उनले लेखेकी छन्।

सरकारले नागरिकका आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै बमले जनतालाई सामाजिक सञ्जालमा सीमित भएर मात्रै विषयवस्तु हेर्ने समूहका रूपमा बुझ्न नहुने टिप्पणी गरेकी छन्।

‘यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्,’ उनले लेखेकी छन्।

दसैँका बेला घर फर्किने यात्रुले सुरक्षित यात्रा, उचित भाडादर र गुणस्तरीय खानपानको सुविधा पाउनुपर्ने विषय उठाउँदै बमले नागरिकका दैनिक समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्।

Tokha