काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

काठमाडौँ । काठमाडौँको रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ महानगरपालिका–२८ स्थित रानीपोखरीको पानीमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुषको शव तैरिरहेको अवस्थामा फेला परेको हो।

स्थानीयवासीले रानीपोखरीमा शव तैरिरहेको सूचना दिएपछि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको विपद् उद्धार टोली घटनास्थल पुगेको थियो। उद्धार टोलीले आवश्यक सामग्री प्रयोग गरी शवलाई पोखरीबाट बाहिर निकालेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न सकेको छैन। उद्धारपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Tokha