काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा र आसपासमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ऊर्जा संरचनाको तत्काल क्षति विवरण संकलन गरी उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिन निर्देशन दिएका छन्।
बाढीको सूचना पाएलगत्तै मन्त्रालयमा वरिष्ठ व्यवस्थापन समूहको बैठक बोलाउँदै मन्त्री श्रेष्ठले विपद्मा परेका कर्मचारी, मजदुर तथा स्थानीयको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न र गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएका हुन्।
१४ जलविद्युत् आयोजना प्रभावित
बाढीबाट रसुवामा ८ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये ५ वटा सञ्चालनमा र ३ वटा निर्माणाधीन छन्। सञ्चालनमा रहेका आयोजनाको क्षमता २३६ मेगावाट तथा निर्माणाधीन आयोजनाको क्षमता ३४२.४२ मेगावाट रहेको छ।
प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना रहेका छन्।
त्यस्तै, नुवाकोटका ६ वटा आयोजना पनि प्रभावित भएका छन्। तीमध्ये ४ वटा सञ्चालनमा र २ वटा निर्माणाधीन छन्। सञ्चालनमा रहेका आयोजनाको क्षमता १२३ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ५२.६ मेगावाट रहेको मन्त्रालयले जनाएको छ।
विद्युत् आपूर्ति नियमित राख्न प्राविधिक टोली परिचालन
बाढीका कारण विद्युत् आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ। सम्भव भएसम्म विद्युत् सेवा तत्काल पुनःस्थापना गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
प्राधिकरणले उद्धारका लागि ७ वटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाएको छ भने थप १४ वटा सवारीसाधन तयारी अवस्थामा राखिएको छ। हवाई उद्धारका लागि समेत समन्वय भइरहेको छ।
दुई लाखभन्दा बढी एसएमएस अलर्ट
तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको जोखिमबारे पूर्वसूचना दिन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाएको छ। तर बाढीबाट गेज स्टेसनलगायत केही संरचनामा क्षति पुगेकाले थप सूचना प्रवाहमा कठिनाइ भएको मन्त्रालयले जनाएको छ।
क्षतिको समग्र विवरण संकलन तथा प्राविधिक मूल्यांकनका लागि योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको छ। विस्तृत क्षति विवरण प्राप्त भएपछि पुनःस्थापनाका लागि आवश्यक कार्ययोजना अघि बढाइने मन्त्रालयले जनाएको छ।



































