काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनमा रोक लगाइएको छ।
सम्भावित बाढी तथा सडकमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले थानकोट–नागढुंगा र भीमढुंगा नाकाबाट बाहिरिने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो।
ट्राफिक प्रहरीले धादिङ, रसुवा र चितवनतर्फ जाने सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न यातायात व्यवसायीलाई अनुरोध गरेको छ। जोखिमलाई ध्यानमा राख्दै ती जिल्लातर्फ जाने चारपाङ्ग्रे निजी तथा दुईपाङ्ग्रे सवारीसाधनमा समेत रोक लगाइएको छ।
चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदीमा जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने जोखिम रहेको बताइएको छ। यही सम्भावित जोखिमका कारण यात्रुको सुरक्षा सुनिश्चित गर्न तत्कालका लागि सवारी आवागमन रोकिएको हो।
ट्राफिक प्रहरीले जोखिमपूर्ण अवस्थामा अनावश्यक यात्रा नगर्न र अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी त्रिशूली नदी आसपास तथा तटीय क्षेत्रमा यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ।



































