बागमतीमा मुख्यमन्त्री थापालाई संकट, कोशीमा कार्कीले पाए ५७ मत

बागमतीमा मुख्यमन्त्री थापालाई संकट, कोशीमा कार्कीले पाए ५७ मत

काठमाडौं / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा विश्वासको मत लिनुअघि नै राजनीतिक संकटमा परेका छन्। सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सात सांसद सरकारप्रति असन्तुष्ट बनेपछि मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन चुनौती थपिएको हो।

बागमती प्रदेशसभाको बैठक मंगलबार दिउँसो ४ बजे बस्ने तय भएको छ। मुख्यमन्त्री थापाले सोही बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार सोमबार बेलुका ८ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सभामुखले नयाँ समय निर्धारण गरेका हुन्। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३० बमोजिम बैठक मंगलबार दिउँसो ४ बजेका लागि तोकिएको हो।

सरकारमा मन्त्री बन्न नपाएको भन्दै नेकपाका सात सांसद असन्तुष्ट बनेका छन्। युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गानारायण श्रेष्ठ, लक्ष्मण लम्साल र कृष्ण खनालसहित सात सांसद काठमाडौंमा रहेको बताइएको छ। उनीहरू विश्वासको मत प्रक्रियामा सहभागी नहुने अवस्था बनेपछि मुख्यमन्त्री थापामाथि थप दबाब परेको छ।

बागमतीमा कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका हुन्। तर सरकार गठनमा सहयोग गरेका दुवै दलभित्रै विवाद देखिएपछि नयाँ सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ।

मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न ५३ सांसदको समर्थन आवश्यक छ। एमाले र नेकपाका सबै सांसदले पक्षमा मतदान गरे पनि दुई मत अपुग हुने अवस्था छ। त्यसैले राप्रपाका १२ सांसदमध्ये कम्तीमा नौ जनाको समर्थन आवश्यक पर्ने देखिन्छ।

तर राप्रपा केन्द्रले बागमतीमा कुनै पनि पक्षलाई समर्थन नगर्ने निर्णय गरिसकेको छ। त्यसविपरीत राप्रपा संसदीय दलका नेता उद्धव थापाले संसदीय दलका तर्फबाट सरकारलाई समर्थन गरेपछि किरण थापा मुख्यमन्त्री बनेका हुन्।

यस निर्णयलाई चुनौती दिँदै राप्रपा बागमती प्रदेशकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौँडामा रिट दायर गरेकी छन्। उक्त रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै भदौ १० गते छलफलका लागि बोलाएको छ।

रिटको टुंगो नलागेसम्म विश्वासको मत लिन नहुने अडान कांग्रेस र राप्रपा केन्द्रले राख्दै आएका छन्। कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक पुकार महर्जनले पनि अदालतबाट अर्को आदेश नआएसम्म विश्वासको मत लिने कार्यसूची स्थगित गर्न सभामुखलाई पत्र पठाएका छन्।

यसरी नेकपाका सात सांसदको असन्तुष्टि र राप्रपाभित्रको विवादका कारण मुख्यमन्त्री थापाका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण बनेको छ। मंगलबार बस्ने प्रदेशसभा बैठकले विश्वासको मत प्रक्रिया अघि बढाउँछ वा फेरि अन्योलमा पर्छ भन्ने विषयमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

कोशीमा कार्की सरकारलाई विश्वास

यता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो।

कार्कीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्यले समर्थन गरेका थिए। कोशी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सांसद छन्। दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका हुन्।

मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका थिए। कांग्रेसका २९ प्रदेशसभा सदस्य रहे पनि विपक्षमा २२ मत परेको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच प्रदेशसभा सदस्यले मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टी (जसपा)की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु पनि बैठकमा उपस्थित भइनन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

मतदानको परिणामसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई प्रदेशसभाको विश्वास कायम भएको छ। बागमतीमा सत्ता समीकरण र आन्तरिक असन्तुष्टिले सरकारलाई संकटमा पारिरहेका बेला कोशीमा भने एमाले र नेकपाबीचको समर्थनले कार्की सरकारलाई तत्कालका लागि सहज अवस्थामा पुर्‍याएको छ।

Tokha