काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा बढिरहेका हत्या, हिंसा र बलात्कारका घटनालाई सामान्य आपराधिक गतिविधिका रूपमा मात्र हेर्न नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले यस्ता घटनाको वृद्धि सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गते भएको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानसँग जोडिएको दाबी गरेका छन्।
उनका अनुसार पछिल्लो परिस्थितिले समाजमा असुरक्षा र भयको मनोविज्ञान बढाउनुका साथै आत्महत्याका घटनामा समेत वृद्धि गराएको छ। अपराधका घटना बढ्दै जाँदा आम नागरिकमा राज्यप्रतिको भरोसा कमजोर हुने र असुरक्षाको भावना बढ्ने उनको भनाइ छ।
पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार तथा दोषीहरूको पहिचान गरी कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। दोषीलाई कानुनी दायरामा ल्याउन नसके अपराधीहरूमा दण्डहीनताको भावना बढ्ने उनको तर्क छ।
उनले दोषीमाथि कारबाही नभएसम्म अपराधीहरू निर्भय हुने र नागरिकहरू भने निरन्तर भय तथा असुरक्षामा बाँच्नुपर्ने अवस्था कायम रहने निष्कर्ष प्रस्तुत गरेका छन्।
पोखरेलको भनाइअनुसार पछिल्ला आपराधिक घटनाको समाधानका लागि केवल अपराधीलाई पक्राउ गर्ने कार्य पर्याप्त नभई राज्य व्यवस्था बलियो बनाउने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने र समाजमा बढ्दो अराजकता नियन्त्रण गर्नेतर्फ पनि ध्यान दिन आवश्यक छ।


































