काठमाडौं । ललितपुरको पुल्चोकस्थित लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला सञ्चालन हुँदै आएको छ। नेपालमै उत्पादित तथा नेपाली उद्यमीले आफ्नै सीप, श्रम र लगानीमा तयार गरेका सामग्रीलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले आयोजना हुँदै आएको मेलाले साना तथा घरेलु उद्यमीलाई प्रत्यक्ष बजारको अवसर दिएको छ।
हरेक शनिबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादन, हस्तकला, हर्बल तथा अर्गानिक सामग्री, मैनबत्ती लगायतका विभिन्न वस्तु बिक्री तथा प्रदर्शनीका लागि राखिने गरेका छन्। मेलामा विभिन्न उमेर समूहका ग्राहकको चहलपहल हुने गरेको व्यवसायीहरू बताउँछन्।
व्यवसायीका अनुसार नियमित पसल सञ्चालन गर्न ठूलो लगानी आवश्यक पर्ने भए पनि यस्तो मेलामा तुलनात्मक रूपमा कम खर्चमा आफ्ना उत्पादन ग्राहकसामु पुर्याउन सकिन्छ। मेलामा स्टल राख्न व्यवसायीले प्रतिदिन करिब १ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यसले विशेषगरी घरबाटै उत्पादन गर्ने तथा सानो लगानीमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमीलाई आफ्नो उत्पादन परीक्षण गर्ने र ग्राहकको प्रतिक्रिया बुझ्ने अवसर दिएको छ।
मेलामा ‘देसी ग्रब’ नामक हर्बल वेलनेस उत्पादनको स्टल राख्दै आएका कविन्द्र मोदीका अनुसार उनीहरूले काठमाडौंको चापागाउँमा विभिन्न हर्बल सामग्री उत्पादन गर्दै आएका छन्।
उनका अनुसार अर्गानिक तथा कोल्ड प्रेस आयल, हेयर आयल, फेस आयल, हाडजोर्नी दुखाइमा प्रयोग गर्ने तेल, सुपरफुड र हर्बल चियालगायत ८–९ प्रकारका उत्पादन बिक्रीमा छन्। उत्पादनअनुसार मूल्य करिब १ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म रहेको उनले बताए।
मोदीका अनुसार नेपाली कच्चा पदार्थ तथा स्थानीय स्तरमा उपलब्ध स्रोतको प्रयोग गरेर उत्पादनलाई बजारमा पुर्याउने प्रयास भइरहेको छ। प्रत्यक्ष मेलामा सहभागी हुँदा ग्राहकले उत्पादनबारे जानकारी लिन तथा प्रयोगसम्बन्धी जिज्ञासा राख्नसमेत पाउने भएकाले व्यवसायका लागि यस्तो मेला उपयोगी भएको उनको भनाइ छ।
मेलामा ‘क्यान्डल कथा’मार्फत घरमै तयार गरिएका मैनबत्ती बिक्री गर्दै आएकी सन्ध्या थापा मगर पनि यस्तै साना उद्यमीमध्ये एक हुन्।
उनका अनुसार तीन जना साझेदार मिलेर घरमै मैनबत्ती उत्पादन गरी विभिन्न माध्यमबाट बिक्री गर्दै आएका छन्। कम लगानीमा पार्टटाइम व्यवसायका रूपमा सुरु गरिएको यो काम विस्तारै नियमित आम्दानीको स्रोत बन्न थालेको उनले बताइन्।
‘क्यान्डल कथा’का उत्पादन लबिम मलको मेलामा मात्र नभई अनलाइन माध्यमबाट समेत बिक्री हुँदै आएका छन्। ग्राहकले इन्स्टाग्राम, फेसबुक, टिकटक तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ।
थापा मगरका अनुसार काठमाडौं उपत्यकाभित्र सामान्यतया सोही दिन वा भोलिपल्ट र उपत्यकाबाहिर १–२ दिनभित्र उत्पादन डेलिभरी गर्ने गरिएको छ। यसले भौतिक स्टलसँगै सामाजिक सञ्जालमार्फत पनि ग्राहकको पहुँच विस्तार गर्न सहयोग पुगेको उनको भनाइ छ।
साना उद्यमीका लागि यस्तो मेलाको अर्को महत्वपूर्ण पक्ष ग्राहकसँग प्रत्यक्ष सम्पर्क हो। अनलाइनबाट मात्र उत्पादन बिक्री गर्दा ग्राहकको प्रतिक्रिया सीमित हुने भए पनि मेलामा ग्राहकले उत्पादन हेर्न, छुन र आवश्यक जानकारी लिन सक्ने भएकाले व्यवसायीलाई आफ्ना उत्पादन सुधार गर्न सहयोग पुग्ने गर्छ।
व्यवसायीहरूका अनुसार ग्राहकको माग, मूल्यप्रतिको धारणा, प्याकेजिङ तथा उत्पादनको गुणस्तरबारे प्रत्यक्ष प्रतिक्रिया लिन सकिने भएकाले मेला बिक्रीका साथै बजार अध्ययन गर्ने माध्यम पनि बनेको छ।
विशेषगरी घरमै उत्पादन गर्ने महिला उद्यमी, घरेलु व्यवसायी तथा नयाँ ब्रान्डका लागि यस्ता बजार महत्वपूर्ण हुने व्यवसायीहरूको भनाइ छ। ठूलो पसल वा शोरुम खोल्न नसक्ने उद्यमीले समेत सीमित शुल्कमा आफ्नो उत्पादन प्रदर्शन गर्न पाउने भएकाले यसले व्यवसाय सुरु गर्नेहरूलाई प्रोत्साहन गरेको उनीहरू बताउँछन्।
नेपाली बजारमा विदेशी तथा आयातित वस्तुको उपलब्धता बढिरहेको अवस्थामा स्थानीय उत्पादनलाई प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्याउने यस्ता मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्याउने देखिन्छ।
व्यवसायीहरूका अनुसार स्थानीय सीप, श्रम र कच्चा पदार्थमा आधारित उत्पादनलाई बजारसँग जोड्न नियमित मेला तथा प्रदर्शनी आवश्यक छन्। यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ग्राहकको पहुँच बढाउन सके घरेलु तथा साना उद्यमीले आफ्नो व्यवसाय विस्तार गर्न सक्ने उनीहरूको अपेक्षा छ।
लबिम मलमा हरेक शनिबार लाग्दै आएको नेपाली उत्पादनको मेलाले अहिले बिक्रीको अवसर मात्र नभई नयाँ उद्यमीका लागि बजार परीक्षण, ग्राहकसँग सम्बन्ध विस्तार र ब्रान्ड पहिचान बनाउने माध्यमका रूपमा समेत भूमिका खेलिरहेको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिने उपभोक्ताको संख्या बढ्दै गएमा यस्ता मेलाले नेपाली साना तथा घरेलु उद्योगलाई थप प्रोत्साहन पुग्ने व्यवसायीहरूको विश्वास छ।


































