पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा चार करोड ८२ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि असारसम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपैयाँ भेटी संकलन भएको हो।

समितिले सार्वजनिक गरेको विवरणअनुसार साउनमा १० लाख ३९ हजार रुपैयाँ, भदौमा नौ लाख ९७ हजार रुपैयाँ, असोजमा ३३ लाख ८२ हजार रुपैयाँ तथा कात्तिकमा ३४ लाख ४८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको छ।

त्यस्तै, मंसिरमा ७५ लाख ४९ हजार १०० रुपैयाँ, पुसमा २४ लाख २५ हजार रुपैयाँ, माघमा १८ लाख ४७ हजार ५०० रुपैयाँ र फागुनमा ३१ लाख १० हजार रुपैयाँ संकलन भएको छ।

चैतमा ५८ लाख ४४ हजार ५०० रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

उनका अनुसार सबैभन्दा धेरै भेटी वैशाख महिनामा संकलन भएको छ। वैशाखमा मात्रै एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको हो। एकै महिनामा एक करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको यो सम्भवतः पहिलो रेकर्ड भएको हाङबाङले बताए।

यस्तै, जेठमा ४६ लाख ६० हजार ६०० रुपैयाँ र असारमा ३२ लाख ७२ हजार ६५५ रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ।

समितिका अनुसार उक्त एक वर्षमा २५ लाख दुई हजार ७८ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।

यसैबीच, चालु आर्थिक वर्षको साउन महिनामा मात्रै तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ। सो अवधिमा दुई हजार ४६९ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेका थिए।

Tokha