क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने तथा पर्वतको मोदी गाउँपालिका–५ घर भएका ३३ वर्षीय चुडामणी रखाल रहेका छन्।

प्रहरीका अनुसार रखालले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख ८५ हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी पीडितको सम्पर्कबाट बाहिरिएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा रखाललाई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बाट बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका रखाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा आकर्षक तलब तथा विदेश पठाइदिने प्रलोभनमा परी रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता जाँच गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Tokha