सैनिकमाथि सांसद पाण्डेको हप्कीदप्की भाइरल, सेनाले लियो गम्भीर आपत्ति

सैनिकमाथि सांसद पाण्डेको हप्कीदप्की भाइरल, सेनाले लियो गम्भीर आपत्ति

काठमाडौं । काठमाडौंको गोकर्ण क्षेत्रमा एक सैनिकसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले गरेको भनिएको हप्कीदप्कीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली सेनाले आपत्ति जनाएको छ।

गोकर्ण करिडोर विस्तारका क्रममा नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयमा सांसद पाण्डे र सैनिकबीच विवाद भएको भिडियोमा देखिन्छ।

भिडियोमा करिडोर विस्तारका लागि डोजर प्रयोग गर्दै गर्दा सैनिकले उक्त क्षेत्र नेपाली सेनाको संरचना भएको भन्दै पर्खाल नभत्काउन आग्रह गरेका छन्। सैनिकले अनुमति तथा सम्बन्धित पत्र देखाउन आग्रह गरेपछि सांसद पाण्डेले आफूले आवश्यक प्रक्रिया बुझिसकेको र करिडोरको मापदण्डअनुसार काम भइरहेको बताएका छन्।

सैनिकले पटक–पटक संवेदनशील क्षेत्र भएकाले सावधानी अपनाउन आग्रह गरे पनि पाण्डेले करिडोरको काम नरोकिने बताएका छन्। उनले सबै निकायका लागि एउटै मापदण्ड लागू हुनुपर्ने धारणा राखेका छन्।

पर्खाल भत्काउँदा त्यस क्षेत्रमा रहेका जंगली जनावर बाहिर निस्कन सक्ने सम्भावनाबारे सैनिकले जानकारी गराउँदा पनि काम रोक्न नमानेको भिडियोमा देखिन्छ।

उक्त घटनालाई नेपाली सेनाले गम्भीर रूपमा लिएको जनाएको छ। सेनाका एक उच्च स्रोतका अनुसार यस विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

यसैबीच प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट गरेका छन्। भेटका क्रममा सांसद पाण्डे र सैनिकबीच भएको घटनाको विषयमा प्रधान सेनापतिले प्रधानमन्त्रीसमक्ष चासो र आपत्ति व्यक्त गरेको स्रोतले जनाएको छ।

Tokha